काडमाडौँ । फिफा विश्वकप २०२६ को १०००औं खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकाल्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।
मेक्सिकोको मोन्टेरेमा सम्पन्न समूह एफ अन्तर्गतको खेलमा जापानका लागि असाय उएदाले दुई गोल गरे भने दाइची कामाडा र जुन्या इटोले एक–एक गोल थपे। पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा पूर्ण तीन अंक जोड्दै दुई खेलबाट ४ अंक पुर्याएको छ। समान अंक भए पनि गोल अन्तरका आधारमा नेदरल्यान्ड्स र जापान समूहको शीर्ष स्थानका लागि प्रतिस्पर्धामा छन्।
यता, लगातार दोस्रो हार बेहोरेको ट्युनिसियाको विश्वकप यात्रा भने समूह चरणमै टुंगिएको छ। ट्युनिसिया पहिलो खेलमा स्वीडेनसँग ५–१ ले पराजित भएको थियो। जापानले विश्वकप इतिहासमा ट्युनिसियामाथि दोस्रो जित निकालेको हो। यसअघि सन् २००२ को विश्वकपमा घरेलु मैदानमा जापानले ट्युनिसियालाई २–० ले हराएको थियो। यो जितसँगै जापानले अन्तिम १६ मा स्थान बनाउने सम्भावनालाई थप मजबुत बनाएको छ भने ट्युनिसिया प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमध्ये एक बनेको छ।