काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका बुबा होर्हे मेस्सी स्वास्थ्य समस्याका कारण चिकित्सकीय निगरानीमा उपचाररत रहेको परिवारले जनाएको छ।
परिवारद्वारा जारी विज्ञप्तिअनुसार होर्हे मेस्सीको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि उनी अहिले चिकित्सकहरूको निगरानीमा रहेका छन्। पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलिएका विभिन्न हल्ला र अनुमानप्रति परिवारले आपत्ति जनाउँदै यसलाई पूर्ण रूपमा निजी पारिवारिक विषय भएको स्पष्ट पारेको छ। परिवारले आधिकारिक स्रोतबाहेक फैलिने सूचनामा विश्वास नगर्न आग्रह गर्दै मेस्सी परिवारको निजी जीवन र मानसिक शान्तिको सम्मान गर्न सबैलाई अपिल गरेको छ। स्वास्थ्य अवस्थासम्बन्धी आवश्यक जानकारी उचित समयमा आधिकारिक माध्यममार्फत सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
यसैबीच, लियोनल मेस्सीले पछिल्ला खेलमा भावुक देखिएको प्रसंगबारे परिवार र व्यक्तिगत कारणले कठिन समय बितिरहेको बताएका थिए। उनले टोली र सहकर्मीहरूको साथप्रति आभार व्यक्त गरेका छन्। मेस्सी हाल अन्तर्राष्ट्रिय फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान नजिक पुगेका छन्। उनले विश्वकप इतिहासमा सर्वाधिक गोलको सूचीमा अग्रस्थानमा रहेका खेलाडीहरूको बराबरी गर्दै नयाँ उपलब्धि हासिल गरेका छन्।