काठमाडौँ।। सहआयोजक क्यानडाले फिफा विश्वकप–२०२६ मा कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा मात्र होइन, विश्वकप इतिहासमै पहिलो जित दर्ता गरेको छ।
भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा घरेलु समर्थकको उत्साहपूर्ण उपस्थितिबीच क्यानडाले सुरुदेखि नै खेलमाथि पकड जमाएको थियो। आक्रमण र अवसर सिर्जनामा प्रभावशाली देखिएको क्यानडाले कतारलाई कुनै पनि चरणमा खेलमा फर्किने मौका दिएन।खेलको १६औँ मिनेटमा साइले लारिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले गोल थपेपछि क्यानडाले आफ्नो दबाबलाई स्कोरबोर्डमा पनि उतार्न सफल भयो।
कतारका लागि खेल झन् कठिन तब बन्यो जब ३३औँ मिनेटमा हमाम अहमद रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। एक खेलाडीले कम भएपछि रक्षात्मक दबाबमा परेको कतारले पहिलो हाफको इन्जुरी समयमा अर्को झट्का बेहोर्यो। जोनाथन डेभिडले व्यक्तिगत दोस्रो गोल गर्दै क्यानडालाई ३–० को आरामदायी अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको केही समयमै कतार थप संकटमा पर्यो। ५१औँ मिनेटमा असिम माडिबोले पनि रातो कार्ड पाएपछि टोली नौ खेलाडीमा सीमित भयो। त्यसपछि खेल पूर्ण रूपमा क्यानडाको नियन्त्रणमा रह्यो। संख्यात्मक लाभको भरपुर उपयोग गर्दै क्यानडाले ६४औँ मिनेटमा नाथन सालिबामार्फत चौथो गोल गर्यो। ७५औँ मिनेटमा कतारका मोहम्मद मनाईबाट आत्मघाती गोल भएपछि अन्तर ५–० पुग्यो। खेलको इन्जुरी समयमा जोनाथन डेभिडले आफ्नो ह्याट्रिक पूरा गर्दै क्यानडाको शानदार प्रदर्शनलाई पूर्णता दिए।
उनको उत्कृष्ट खेलले क्यानडालाई ६–० को ऐतिहासिक जित दिलायो। यो नतिजा क्यानडाका लागि विशेष रह्यो, किनभने विश्वकपमा सहभागिता जनाएको लामो इतिहासपछि उसले पहिलो पटक जितको स्वाद चाख्न सफल भएको हो। यसअघि खेलेका दुई संस्करणमा क्यानडाले कुनै पनि खेल जित्न सकेको थिएन। यस जितसँगै क्यानडाले दुई खेलबाट चार अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। समान चार अंक भए पनि गोलअन्तरका आधारमा स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहेको छ। यता, बोस्निया एन्ड हर्जगोभिना र कतारले भने दुई खेलपछि समान एक–एक अंक मात्र जोड्न सकेका छन्।