काठमाडौँ । एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ। कम्पनीको शेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न भएको हो।
कम्पनीले जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख ५५ हजार ७०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। यसबाट कुल ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको पूँजी संकलन गरिएको छ। आईपीओमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको थियो। निष्काशन अवधिमा २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए।
प्राप्त आवेदनमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएका छन् भने केही आवेदन प्राविधिक तथा अन्य कारणले रद्द भएका छन्। मागभन्दा धेरै आवेदन परेकाले नियमानुसार गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको हो। बाँडफाँटको नतिजाअनुसार ६५ हजार ५७० जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। उच्च आवेदनका कारण ठूलो संख्यामा सहभागी भएका लगानीकर्तामध्ये अधिकांशले भने यसपटक पनि शेयर प्राप्त गर्न सकेनन्।