काठमाडौँ। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अपेक्षाअनुसार चम्किन सकेनन्। डिआर कंगोसँग १–१ गोलको बराबरीमा सकिएको खेलमा रोनाल्डोले पूरै खेल अवधिभर जम्मा २५ पटक मात्र बल छोएका थिए, जुन उनको विश्वकप यात्राकै कम प्रभावशाली प्रदर्शनमध्ये एक मानिएको छ।
ईएसपीएन एफसीका अनुसार रोनाल्डोले खेलभर तीन पटक प्रहार गरे पनि कुनै पनि प्रयास लक्ष्यमा पुग्न सकेन। डिआर कंगोका रक्षकहरूले सुरुदेखि नै उनलाई कडा निगरानीमा राखेका कारण उनी आक्रमणमा प्रभाव जमाउन असफल भए। उनको सीमित उपस्थितिले पोर्चुगलको आक्रमणात्मक खेलमा पनि असर परेको देखिएको थियो। खेलको छैटौं मिनेटमा जोआओ नेभेस ले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा डिआर कंगोका योआन विस्सा ले बराबरी गोल फर्काएपछि खेल १–१ को स्थितिमा पुगेको थियो।
दोस्रो हाफमा पोर्चुगलले केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा बदल्न सकेन। अन्ततः दुवै टोलीले एक–एक अंक बाँड्दै प्रतियोगिताको सुरुआत गरे। यो खेलपछि रोनाल्डो प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार १० खेलसम्म गोल गर्न नसक्ने श्रृंखलामा पुगेका छन्। अर्कोतर्फ, सन् १९७४ यता पहिलो पटक विश्वकपमा सहभागी भएको डिआर कंगो ले बलियो टोली पोर्चुगल सँग बराबरी खेल्दै स्मरणीय नतिजा निकालेको छ।