काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर तथा अलराउन्डर करण केसी खेल मैदानबाहिर पर्यटन क्षेत्रमा फरक सुरुवात गर्दै व्यावसायिकतातर्फ अघि बढेका छन्। क्रिकेटर केसीले मुस्ताङको लेतेमा आफ्नै लगानीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन्।
उनले मुस्ताङको लेतेस्थित ‘द लेते गाउँ रिसोर्ट’सँग सहकार्य गर्दै आफ्नो एउटा दीर्घकालीन सपना पूरा हुन लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
क्रिकेट मैदानमा नेपाललाई कयौँ ऐतिहासिक जित दिलाएका करणले हिमालसँग आफ्नो भावना जोडिएको उल्लेख गरेका छन्। “क्रिकेट मेरो परिचय हो, तर हिमालसँग मेरो सम्बन्ध अलि फरक छ,“ उनले भनेका छन्, “हरेक पटक ट्रेकिङ जाँदा मनमा एउटै सोच आउँथ्यो– कुनै दिन यस्तै हिमालको काखमा आफ्नै एउटा सुन्दर घर हुन पाए। आज त्यो सपना बिस्तारै पूरा गर्दै छु।“
करणका अनुसार यो केवल एउटा व्यवसाय वा घर मात्र नभई, एक नेपाली युवाको सपना र नेपाली पर्यटनप्रतिको सानो प्रयास हो। मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी निर्माण गरिएको उक्त रिसोर्ट केही दिनमै औपचारिक रूपमा सञ्चालनमा आउने तयारीमा रहेको जानकारी दिएका छन् ।
आफ्नो नयाँ व्यावसायिक यात्रामा फ्यान र शुभचिन्तकहरूको माया, साथ र प्रतिक्रियाको प्रतीक्षामा रहेको बताउँदै उनले मुस्ताङ आउँदा आफ्नो सपनाको घर ‘लेते गाउँ रिसोर्ट’ मा एकपटक अवश्य आउन सबैलाई निमन्त्रणा समेत गरेका छन्। पछिल्लो समय नेपाली क्रिकेटरहरू खेलसँगै विभिन्न व्यवसायमा जोडिने क्रम बढ्दो छ, जसमा करणको यो रिसोर्ट योजना पर्यटन क्षेत्रका लागि सुखद मानिएको छ।


