काठमाडौँ। फिफा विश्वकप–२०२६ मा अष्ट्रियाले विजयी सुरुवात गरेको छ। बुधबार भएको खेलमा अष्ट्रियाले पहिलोपटक विश्वकप खेलिरहेको जोर्डनलाई ३–१ ले पराजित गरेको हो।
अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा भएको खेलमा अष्ट्रियाका रोमानो श्मिड र मार्को अर्नाटोभिकले एक–एक गोल गरे भने एक गोल आत्मघाती रूपमा प्राप्त भयो। खेलको २०औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए। ५०औं मिनेटमा जोर्डनका अली ओल्वानले बराबरी गोल फर्काए। तर, ७६औं मिनेटमा जोर्डनका याजान अल(अरबको आत्मघाती गोलले अष्ट्रिया फेरि अग्रतामा पुग्यो। इन्जुरी समयमा पेनाल्टी पाएपछि मार्को अर्नाटोभिकले गोल गर्दै अष्ट्रियाको जित सुनिश्चित गरे। जितसँगै अष्ट्रियाले ३ अंक जोड्दै समूह ‘जे’ मा दोस्रो स्थान बनाएको छ। समान ३ अंक रहेको अर्जेन्टिना गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ भने जोर्डन र अल्जेरिया अंकविहीन छन्। अष्ट्रिया आठौँ पटक विश्वकप खेलिरहेको टोली हो भने जोर्डन पहिलो पटक विश्वकपमा सहभागी भएको हो।