काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आउँदो महिनाका लागि पछिल्लो महिनाको असार मसान्तभित्रै ब्याजदर प्रस्ताव गर्नुपर्ने राष्ट्र बैंकको नियमअनुसार २० वटै वाणिज्य बैंकले आइतबार नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
सार्वजनिक ब्याजदरअनुसार आगामी असारका लागि अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँचवटा बैंकले थप घटाएका छन् ।
बैंकमा निरन्तर निक्षेप बढ्दै गएको तर सोहीअनुसार लगानी हुन नसक्दा बैंकरू तनावमा छन् । कुल निक्षेप ८० खर्ब १७ अर्ब रुपैयाँ नाघ्दैगर्दा लगानी ५९ खर्ब १५ अर्ब रुपैयाँ बराबर हुन सकेको छ । ठूलो लगानीयोग्य पुँजी बैंकको भल्टमै रहने अवस्थाबीच बैंकहरूमाथि ब्याजदर घटाउने दबाब परेको हो ।
बैंकहरूद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार असारका लागि एनआईसी एसिया, एनएमबी, प्राइम कमर्सियल बैंक, हिमालयन र स्टान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
निक्षेपको फ्लो बढ्दैगर्दा थप लगानीको संकट हुने देखिएकाले यी बैंकहरूले ब्याजदर घटाएका देखिन्छ।
तथापि, १५ वटा बैंकहरूले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् ।
