काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘ए’ को रोमान्चक खेलमा दक्षिण कोरियाले विजयी सुरुवात गरेको छ। मेक्सिकोको एस्टाडियो ग्वाडालाजारा रंगशालामा शुक्रबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोल अन्तरले पराजित गरेको हो।
एक गोलले पछि परेको स्थिति उल्टाउँदै कोरियाले उत्कृष्ट पुनरागमन जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेल निकै रोमान्चक बनेको थियो।
खेलको ५९औँ मिनेटमा लाडिस्लाभ क्रेज्चीले उत्कृष्ट हेडिङ गोल गर्दै चेक गणतन्त्रलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, चेकको त्यो अग्रता धेरै समय टिक्न सकेन। खेलको ६७औँ मिनेटमा दक्षिण कोरियाका ह्वाङ इन बेमले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।
त्यसपछि आक्रामक बनेको कोरियाका लागि ८०औँ मिनेटमा ओ ह्युन ग्यूले निर्णायक गोल गरे। उनले बेमको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाएका थिए।
यस जितसँगै दक्षिण कोरियाले महत्त्वपूर्ण ३ अंक बटुलेको छ र समूह ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। यसअघि यसै समूहको उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले हराउँदै ३ अंक जोडिसकेको छ। पहिलो खेलबाटै स्पष्ट जित निकालेका दक्षिण कोरिया र मेक्सिकोको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनेको छ।