काठमाडौँ। एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० मा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो। यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि वैशाख १६ देखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरिएको थियो। उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो। जारी गरिएको कुल सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र १५ हजार ८ सय कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत आवेदन दिन सकिनेछ। साथै, लगानीकर्ताले मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन पनि गर्न सक्नेछन्। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।