काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ। फिफा विश्वकप २०२६ हेर्न अमेरिका तथा मेक्सिको जाने तयारीमा रहेका उनीहरूलाई अध्यागमन कार्यालयले विदेश जान अनुमति नदिएको हो।
अध्यागमन स्रोतका अनुसार नेम्वाङ र राई कालोसूचीमा रहेकाले सोमबार बिहान विमानस्थलबाटै फर्काइएको हो। उनीहरू विदेश प्रस्थान गर्ने क्रममा अध्यागमन जाँचका बेला रोकिएका थिए। यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले आर्थिक अनियमिततासम्बन्धी छानबिनका लागि गत वैशाखदेखि एन्फाका पदाधिकारीहरूको विदेश भ्रमणमा रोक लगाएको थियो। विश्वकप कार्यक्रममा सहभागी हुन विदेश जाने अनुमति माग्दै एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर, राखेपले उनीहरूको अनुरोध स्वीकार नगरेपछि विदेश यात्रा अवरुद्ध भएको हो। एन्फासम्बन्धी आर्थिक विषयमा अनुसन्धान जारी रहेका बेला लागू गरिएको यात्रा प्रतिबन्ध अझै कायम रहेकाले उनीहरूलाई विदेश जान नदिइएको सम्बन्धित निकायले जनाएको छ।