काठमाडौँ। नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट कर्जा प्रवाहलाई थप सहज बनाउँदै लघु, साना तथा मझौला उद्यमीका लागि मोबाइल बैंकिङबाटै धितोबिनाको कर्जा लिन सकिने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले ‘विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेन्डिङ) सम्बन्धी मार्गदर्शन, २०७८’ मा संशोधन गर्दै अल्पकालीन चालू पूँजी कर्जाका लागि अधिकतम ५ लाख रुपैयाँ र दीर्घकालीन चालू पूँजी कर्जाका लागि १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार ग्राहकले मोबाइल बैंकिङ एपमार्फत कर्जाको आवेदन दिन सक्नेछन्। आवेदन प्राप्त भएपछि स्वचालित प्रणालीले आवश्यक मूल्यांकन गरी योग्य ठहरिएका ग्राहकको खातामा केही मिनेटभित्रै रकम जम्मा हुनेछ। यस प्रक्रियामा धितो राख्नुपर्ने, बैंक शाखामा पुग्नुपर्ने वा कागजी झन्झट बेहोर्नुपर्ने आवश्यकता नपर्ने राष्ट्र बैंकले जनाएको छ। डिजिटल कारोबारमा सक्रिय व्यवसायीलाई लक्षित गर्दै ल्याइएको यो व्यवस्थाले वित्तीय सेवामा पहुँच बढाउनुका साथै कर्जा प्राप्तिको प्रक्रिया थप छिटो र सहज बनाउने अपेक्षा गरिएको छ।