काठमाडौँ। एसियाली राष्ट्र इरानले फिफा विश्वकपमा सातौँ पटक सहभागिता जनाउँदैछ। विश्व छनोट चरण सहज रूपमा पार गरेको इरानका लागि पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक तनाव र द्वन्द्वका बीच यो सहभागिता थप चर्चाको विषय बनेको छ।
अमेरिकासँगको तनावपूर्ण सम्बन्ध र द्वन्द्वबीच पनि इरानी खेलाडीहरूले विश्वकपमा सहभागी हुन आवश्यक भिसा प्राप्त गरेका छन्। लस एन्जलसमा हुने पहिलो खेलअघि नै भिसा उपलब्ध गराइएको जनाइएको छ, जसले उनीहरूको तयारीलाई सहज बनाएको छ। सन् १९७८ को अर्जेन्टिना विश्वकपबाट सहभागिता सुरु गरेको इरानले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन। यसपटक इरान समूह ‘जी’ मा बेल्जियम, इजिप्ट र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इरानले विश्वकप यात्रामा उतारचढावपूर्ण इतिहास बोकेको छ। १९७८ मा पहिलो सहभागितामा पेरु र नेदरल्यान्ड्ससँग हार तथा स्कटल्याण्डसँग बराबरी खेलेको इरानले लामो समय विश्वकपमा स्थान बनाउन सकेन। २० वर्षपछि सन् १९९८ मा पुनः विश्वकपमा फर्किएको इरानले अमेरिकालाई २–१ ले पराजित गरे पनि जर्मनी र युगोस्लाभियासँग पराजित हुँदै समूह चरणमै रोकियो।
त्यसपछि २००२ मा छनोट हुन नसकेको इरानले २००६ मा पुनः विश्वकप यात्रा तय गर्यो। समूह चरणमा एंगोलासँग बराबरी खेले पनि पोर्चुगल र मेक्सिकोसँग हार व्यहोरेर बाहिरियो। २०१४ को विश्वकपमा नाइजेरियासँग बराबरी खेल्दा अर्जेन्टिनासँग अन्तिम क्षणमा लियोनेल मेसीको गोलले पराजय बेहोर्नुपर्यो। २०१८ मा इरानले पोर्चुगलसँग बराबरी गर्दै मोरक्कोलाई हराए पनि स्पेनसँग हार्दा समूह चरण पार गर्न सकेन। सन् २०२२ को विश्वकपमा इरानले वेल्सलाई २–० ले हराए पनि इंग्ल्यान्डसँग ६–२ र अमेरिकासँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। यसपटक इरान फेरि समूह चरण पार गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ, तर बलियो प्रतिस्पर्धी टोलीहरूबीचको चुनौती भने सहज हुने देखिँदैन।