काठमाडौँ। साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्से २०.२७ अंकले घटेर २७३५ अंकमा कायम भएको छ। अघिल्ला दुई कारोबार दिनमा पनि बजार क्रमशः ११ र १३ अंकले घटेको थियो।
आजको कारोबार सुरु भएको केही मिनेटमै घट्न थालेको बजार अन्तिम समयसम्म रातो अंकमै रह्यो। बजारमा ४१ कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ४ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ, जुन करिब डेढ अर्ब रुपैयाँले कम हो। उपसमूहगत रूपमा फाइनान्स समूह बाहेक सबै सूचकहरूमा गिरावट देखिएको छ। फाइनान्स सूचक ०.२६ प्रतिशतले बढेको छ भने अन्य सबै समूह रातो क्षेत्रमा रहेका छन्। व्यापार समूह सबैभन्दा बढी १.७७ प्रतिशतले घटेको छ। त्यस्तै अन्य १.५०, विकास बैंक १।०३, हाइड्रोपावर ०.९५, निर्जीवन बीमा ०.८३, होटल तथा पर्यटन ०.७१, जीवन बीमा ०.५४, माइक्रोफाइनान्स ०.५२, लगानी ०.३८, बैंकिङ ०.४५ तथा उत्पादन तथा प्रशोधन समूह ०.४४ प्रतिशतले घटेका छन्।