काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० छनोटको फाइनल खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। सिंगापुरस्थित सिंगा ओभलमा भएको टसमा नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर विपक्षी टोली हङकङलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
नेपाली क्रिकेटका लागि आजको फाइनल खेल अर्को एउटा विशेष कीर्तिमानको साक्षी बनेको छ। कप्तान दिपेन्द्र सिंह ऐरीको करियरको यो १०० औं टी–२० अन्तर्राष्ट्रिय खेल हो। उनी नेपालका तर्फबाट यो ऐतिहासिक आँकडा छुने महत्वपूर्ण खेलाडी बनेका छन्।
यसअघि आइतबार भएको सेमिफाइनल खेलमा ओमानलाई ८ विकेटको सहज पराजय चखाउँदै नेपालले फाइनलको यात्रा तय गरेको थियो। अर्कोतर्फ, मलेसियालाई पराजित गर्दै हङकङले फाइनलमा स्थान सुरक्षित गरेको हो।
यसैबीच, आजै सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा मलेसियाले ओमानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। फाइनल पुगिसकेका कारण नेपाल र हङकङ दुवै टोली आगामी एशियन गेम्सका लागि छनोट भइसकेका छन् भने आजको खेलले च्याम्पियन टोलीको टुङ्गो लगाउनेछ।