काठमाडौं । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन–टु–पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु गरेको छ । यो सेवामार्फत ग्राहकले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्नेछन् ।
यसअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब आफ्नो मोबाइल बैंकिङ एप ‘एन बैंक’ प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् ।
यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ ।
बैंकका अनुसार, यो सेवा दुवै देशका ग्राहकका निम्ति सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो ।
बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ । नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम १५ हजार भारु र मासिक अधिकतम एक लाख भारु सम्म पठाउन सक्नेछन् ।
यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम दुई लाख भारुसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागु हुने छैन । यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको बैंकले जनाएको छ ।
