काठमाडौँ। एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ। कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन गर्दै आवेदन आह्वान गरेको हो।
कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ बिक्री गरेको थियो। उक्त सेयर बाँडफाँड प्रक्रिया सम्पन्न भएपछि सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ। निष्कासित कुल सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) र १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी रहेको सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्स्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीका अनुसार आईपीओमा आवेदन दिने अवधि छिटोमा जेठ २७ गतेसम्म रहनेछ। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा बिक्री अवधि असार ५ गतेसम्म लम्बिन सक्नेछ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत समेत आईपीओ भर्न सकिने व्यवस्था गरिएको छ।