काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै समूह ‘डी’को शीर्ष स्थान कायम गरेको छ। मलेसियाको कोलेज तुआन्कु जाफर ओभलमा बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको हो।
नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो। भुटानका डिचेन वाङ्मोले अविजित ३९ रन बनाए भने चाडो ओमले ११ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। नेपालका लागि रुबिना क्षेत्रीले तीन विकेट लिँदै उत्कृष्ट बलिङ गरिन्। यस्तै रिया शर्माले दुई विकेट हात पारिन् भने कविता कुँवर र मनीषा उपाध्यायले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो। नेपालका लागि सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन्। रुबिना क्षेत्रीले २४ रन बनाइन् भने सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन थपिन्। भुटानका छिरिङ जाङ्मो र सोनामले समान तीन–तीन विकेट लिए। अन्जु गुरुङले दुई विकेट लिँदा रित्शी छोडेन र रिया प्रधानले एक–एक विकेट हात पारे। समूह ‘डी’मा नेपालले दुई खेलबाट चार अंक जोड्दै शीर्ष स्थान सुरक्षित गरेको छ। हङकङ दुई अंकसहित दोस्रो स्थानमा रहेको छ भने लगातार दुई खेल हारेको भुटान अंकविहीन छ। नेपालले प्रतियोगिताको पहिलो खेलमा कतारलाई आठ विकेटले पराजित गरेको थियो। अब नेपालले शनिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।