काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप–२०२६ को सेमिफाइनल खेलको पहिलो हाफमा नेपाल र बंगलादेश १–१ गोलको बराबरीमा रोकिएका छन्। खेलको ४० औं मिनेटसम्म मैदानमा बलियो पकड र दबदबा बनाएको नेपालले पहिलो हाफको थप गरिएको (इन्जुरी) समयको पहिलो मिनेटमा दुर्भाग्यपूर्ण गोल व्यहोर्न पुग्यो।
नेपालका लागि खेलको २३ औं मिनेटमा डिफेन्डर गीता राना मगरले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाउनुभएको थियो। तर, पहिलो हाफको अन्तिम समयमा बंगलादेशकी फरवार्ड रितु पोर्ना चक्माले कर्नरबाट दोस्रो बारमा च्याप्दै सिधै उत्कृष्ट गोल गरेपछि साविक विजेता बंगलादेश खेलमा फर्कन सफल भयो।
खेलको दोस्रो मिनेटबाट नै नेपालले बंगलादेशलाई कडा दबाबमा राखेको थियो। खेलको सुरुवाती क्षणमै स्ट्राइकर रेखा पौडेलले ’वान बाइ वान’ को सुवर्ण अवसरमा फिनिसिङ गर्न चुक्नुभयो। यस्तै, तेस्रो मिनेटमा रश्मीकुमारी घिसिङको प्रहार बंगलादेशी गोलकिपरको हातमा पुग्यो भने १८ औं मिनेटमा प्रिती राईले प्रहार गरेको ’हाई बल’ पनि किपरले सहजै नियन्त्रणमा लिइन्।
लगातार आक्रमण बुनेको नेपालले खेलको २२ औं मिनेटको अन्तिम सेकेन्डमा कर्नर पायो। मिडफिल्डर दिपा शाहीले प्रहार गरेको सुन्दर कर्नर बलमा अनमार्क रहेकी गीता राना मगरले कुनै गल्ती नगरी उत्कृष्ट फिनिसिङ गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाउनुभयो। २३ औं मिनेटको यो गोलपछि नेपालले खेलको ४० औं मिनेटसम्म एकतर्फी रूपमा बंगलादेशलाई दबाबमा राखेको थियो। खेलको उत्तरार्धमा बंगलादेशले तोहिरा खातुन र साम सुनाहारलाई मैदानबाट बाहिर निकाल्दै खेलाडी परिवर्तन ग¥यो। यो परिवर्तनपछि खेलको मोमेन्टम बंगलादेशको पक्षमा मोडियो।
खेलको ४४ औं मिनेटमा रितु पोर्ना चक्मालाई नेपालकी सरु लिम्बुले फाउल गरेपछि बंगलादेशले डी–बक्सको ठीक अगाडि फ्रि–किक पाएको थियो। उक्त फ्रि–किकलाई नेपाली डिफेन्डरहरूले क्लियर गर्दै बाहिर पठाए पनि बंगलादेशले कर्नर जित्न सफल भयो। सोही कर्नर प्रहारमा रितु पोर्ना चक्माले सिधै गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।
पहिलो हाफ बराबरीमा सकिएसँगै दोस्रो हाफ थप रोमाञ्चक र निर्णायक हुने अनुमान गरिएको छ।