काठमाडौँ। साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज सेमिफाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।
भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियम मा हुने पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालले लगातार दुई पटकको साविक विजेता बंगलादेशको सामना गर्न लागेको हो । नेपाली महिला फुटबलका लागि यो खेललाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ । नेपाल यसअघि प्रतियोगिताका अधिकांश संस्करणमा उपविजेतामा सीमित रहँदै आएको छ भने सन् २०१६ मा मात्र सेमिफाइनलबाट बाहिरिएको थियो । यसपटक फाइनल पुग्न नसके नेपाली टोलीको यो प्रदर्शन पछिल्ला वर्षकै कमजोरमध्ये एक मानिनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपाने ले सेमिफाइनल नेपाली महिला फुटबलकै लागि ठूलो अवसर भएको बताएका छन् । बेम्बोलिमस्थित जीएमसी एथलेटिक मैदानमा भएको अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले टोली शारीरिक र मानसिक रूपमा खेलका लागि पूर्ण तयारीमा रहेको बताए । नेपाल पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । त्यसैले यस खेललाई नेपाली टोलीका लागि आफूलाई प्रमाणित गर्ने अवसरका रूपमा हेरिएको छ । यद्यपि प्रशिक्षक न्यौपानेले ‘बदला’ भन्दा पनि उपाधि जित्ने लक्ष्यमा टोली केन्द्रित रहेको स्पष्ट पारे ।
यता बंगलादेशी टोलीले मंगलबारको अभ्यास रद्द गरेको थियो । टोलीकी खेलाडी सेउली अनामकी आमाको निधन भएपछि खेलाडीहरू प्रशिक्षणमा सहभागी भएका थिएनन् । नेपालका लागि मिडफिल्डर प्रीति राई पनि टोलीमा फर्किएकी छन् । कम्बोडियाबाट गोवा पुगेकी उनले बंगलादेशविरुद्ध सुरुदेखि खेल्ने सम्भावना रहेको बताइएको छ । मध्यपंक्तिमा उनले रेनुका नगरकोटी सँग संयोजन गर्ने अपेक्षा गरिएको छ । तथ्यांक हेर्दा नेपालले सन् २०२१ यता बंगलादेशलाई पराजित गर्न सकेको छैन । हालसम्म दुई टोलीबीच १३ खेल हुँदा नेपाल ६ खेलमा विजयी भएको छ । तर पछिल्ला ६ भेटमा बंगलादेशले दुई जित निकालेको छ, जसमा साफ च्याम्पियनसिपका दुई फाइनल पनि समावेश छन् । सन् २०२४ मा काठमाडौँको दशरथ रंगशाला मा भएको फाइनलमा बंगलादेशसँग पराजित भएपछि नेपाल र बंगलादेशबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगिताको अर्को सेमिफाइनलमा आजै राति सवा ८ बजे भारत र भुटान आमनेसामने हुनेछन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार आयोजना हुनेछ ।