काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघले महिला खेलाडीहरूको स्वास्थ्य र प्रदर्शनलाई लक्षित गर्दै फिमेल हेल्थ एन्ड पर्फर्मेन्स प्रोजेक्ट सुरु गरेको छ ।
यस परियोजनाको मुख्य उद्देश्य महिला फुटबल खेलाडीहरूको अनुसन्धान, शिक्षा र सहयोग प्रणालीलाई थप प्रभावकारी बनाउनु हो । विश्वभर महिला फुटबलको लोकप्रियता बढ्दै गएको सन्दर्भमा खेलाडीहरूको स्वास्थ्य, प्रशिक्षण विधि र प्रदर्शन सुधारका लागि आवश्यक मार्गदर्शन उपलब्ध गराउने लक्ष्य राखिएको छ । फिफाले महिला खेलाडीहरूको शारीरिक अवस्था र आवश्यकताअनुसार विशेष सहयोग प्रणाली विकास गर्ने जनाएको छ, जसले उनीहरूको खेल जीवनभर निरन्तर सहयोग पुर्याउने अपेक्षा गरिएको छ । यो पहलमार्फत परम्परागत रूपमा पुरुष केन्द्रित प्रशिक्षण र मूल्याङ्कन प्रणालीलाई सुधार गर्दै महिला खेलाडीका विशिष्ट आवश्यकतामा आधारित आधुनिक अभ्यासलाई प्राथमिकता दिइने फिफाले जनाएको छ ।