काठमाडौँ । नेपाल राष्ट्र बैंक ले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
राष्ट्र बैंकले जारी गरेको वित्तीय चेतनामूलक सन्देशमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा डिजिटल वालेटजस्ता सेवाहरू ग्राहकले दर्ता गरेको मोबाइल नम्बर वा इमेलसँग जोडिएको हुने उल्लेख गरिएको छ । यस्ता सेवामा खातासम्बन्धी महत्वपूर्ण विवरण रहने भएकाले मोबाइल नम्बर परिवर्तन भएमा अद्यावधिक जानकारी गराउनु आवश्यक रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार मोबाइल हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सम्बन्धित सेवा प्रदायकलाई जानकारी नदिँदा खातासम्बन्धी संवेदनशील विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्न सक्ने जोखिम रहन्छ ।
यस कारण मोबाइल नम्बर वा इमेल परिवर्तन भएलगत्तै सम्बन्धित बैंक, वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराई आफ्नो वित्तीय विवरण सुरक्षित राख्न राष्ट्र बैंकले सुझाव दिएको छ । साथै, मोबाइलमार्फत वित्तीय कारोबार गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप मात्र प्रयोग गर्न पनि आग्रह गरिएको छ । यसैबीच, वित्तीय सेवासम्बन्धी गुनासो तथा उजुरीका लागि राष्ट्र बैंकले आफ्नो अनलाइन गुनासो पोर्टलमार्फत सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । वित्तीय साक्षरता र ग्राहक संरक्षणलाई प्रभावकारी बनाउन यस्ता जनचेतनामूलक सन्देश नियमित रूपमा जारी गरिँदै आएको पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।