काठमाडौँ । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख ५ हजार ५ सय कित्ता साधारण सेयर बिक्रीमा ल्याउन लागेको हो ।
यसअघि कम्पनीले पहिलो चरणमा वैशाख २१ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८५ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त सेयर बाँडफाँट सम्पन्न भएपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागिएको कम्पनीले जनाएको छ ।सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने समय छिटोमा असार २ गतेसम्म रहनेछ भने आवश्यक परेमा असार ११ गतेसम्म अवधि थप हुन सक्नेछ ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युयर रेटिङ’ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
साथै, मेरो सेयर मार्फत पनि आईपीओ आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ ।