काठमाडौँ। धितोपत्र बजारमा आज नेप्से परिसूचकमा गिरावट आएको छ। नेप्से २६.७२ अङ्कले घटेर २,७५५.३७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.७८ अङ्कले घटेर ४७०.७२ मा सीमित भएको छ। बजेटपछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा भए पनि नेप्से ०.९६ प्रतिशतले ओरालो लागेको हो। आज कुल ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजारभन्दा बढी कित्ता शेयर ५ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। कारोबारका आधारमा आँखा खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यस्तै नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स, रिडी पावर र नेशनल हाइड्रोपावर पनि सक्रिय कारोबारमा रहे।
लाभ कमाउने कम्पनीमा नेपाल पुनर्बीमा, कालिञ्चोक हाइड्रोपावर, सिटिजन बैंकको डिबेन्चर, सेन्ट्रल फाइनान्स र सिभिल बैंकको डिबेन्चर रहेका छन्। त्यसैगरी बुङ्गल हाइड्रोपावर, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, विशाल बजार कम्पनी, एनआईबीएल समृद्धि फन्ड र नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन्। १३ उपसमूहहरूमध्ये आज २ वटा मात्र बढेका छन् भने ११ वटा घटेका छन्। बजारमा समग्रमा नकारात्मक प्रवृत्ति देखिएको छ।