काठमाडौँ । सानीगाड हाइड्रो कम्पनी ले सोमबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन खुला गरेको छ।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न अनुमति पाएको हो। कम्पनीको कुल जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा म्युचुअल फन्डका लागि छुट्याइएको हिस्सा बाहेक बाँकी ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो। आईपीओ बिक्री प्रबन्धकको जिम्मा लक्ष्मी सनराइज क्यापिटलले लिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन जेठ २१ गतेसम्म खुला रहनेछ।
लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय वा मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीले बझाङमा ३८.४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। आयोजना निर्माण लागत करिब ८ अर्ब ६८ करोड रुपैयाँ रहने अनुमान गरिएको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले इक्रा नेपाल बाट ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ। गत पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा रहेको उल्लेख गरिएको छ। साथै कम्पनीको सञ्चित नाफा २६ करोड ३७ लाख रुपैयाँ पुगेको जनाएको छ।