काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ खरिद मूल्य प्राप्त भए पनि निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको हो।
नयाँ खरिद मूल्य अनुसार पेट्रोल, डिजेल र ग्यासको भाउ यथावत हुँदा पनि निगमलाई पाक्षिक (१५ दिन) मा करिब ६२ करोड ८६ लाख रुपैयाँ घाटा हुने विज्ञप्तिमा उल्लेख छ।
हाल काठमाडौं पेट्रोल प्रतिलिटर २१७ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर २२५ रुपैयाँ रहेको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१६० रुपैयाँ नै कायम रहनेछ।
हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २६९ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
