काठमाडौं । रोयल च्यालेन्जर्स बेंग्लुरू (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ।
गएराति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै बेंग्लुरू लगातार दोस्रो पटक च्याम्पियन बनेको हो।
नरेन्द्र मोदी स्टेडियममा बेंग्लुरूले जितका लागि पाएको १५६ रनको लक्ष्य ५ विकेट गुमाएर १२ बल बाँकी छँदै पूरा गरेको थियो।
यस क्रममा ओपनर विराट कोहलीले नट आउट ७५ रन बनाए। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर वेंकटेश ऐयरले ३२ रन बनाए। उनले १६ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। टिम डेविडले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरी २४ रन बनाए।
क्रुनाल पाण्ड्या १ रन बनाएर आउट हुँदा जितेश शर्माले नट आउट ११ रन बनाए। बलिङतर्फ रशिद खानले २ तथा मोहम्मद सिराज, कगिशो रबाडा र अर्शद खानले १/१ विकेट लिए।
पहिले ब्याटिङ गरेको गुजरातले ८ विकेट गुमाएर १५५ रन बनाएको थियो। त्यस क्रममा वासिङ्टन सुन्दरले ५० रन बनाए। उनले ३७ बलमा ५ चौका प्रहार गरे।
निशान्त सिन्धुले १८ बलमा २० रन बनाए। जोश बट्लर १९, साई सुदर्शन १२ र शुभमन गिलले १० रन बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ बेंग्लुरूका रशिक सलामले ३ तथा भुवनेश्वर कुमार र जोश हेजलउडले २/२ विकेट लिए। क्रुनाल पाण्ड्याले एक विकेट लिए।
च्याम्पियन बनेको आरसीबीले ट्रफी र २० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ, जबकि उपविजेता गुजरात टाइटन्सले १२.५ करोड रुपैयाँमा चित्त बुझाउनु पर्यो ।