काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले आक्रामक ब्याटिङ गर्दै ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा विष्फोटक ब्याटिङ गर्दै विशाल योगफल तयार पारेको हो।
नेपाली टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै मैदानमा सनसनी मच्चाएका थिए। उनी नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो ऐतिहासिक उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन्। भुर्तेलले मात्र ४३ बलको सामना गर्दै १२९ रनको उत्कृष्ट शतकीय पारी खेले।
भुर्तेललाई बलियो साथ दिँदै कुशल मल्लले ४७ बलमा ८५ रन र कप्तान रोहित पौडेलले मात्र २१ बलमा विष्फोटक ६९ रन जोडेपछि नेपालले चीनसामु रनको पहाड खडा गर्न सफल भएको हो।