काठमाडौँ । लियोनल मेसीले सन् २०२६ को विश्वकपमा अर्जेन्टिनाको कप्तानी गर्दै छैटौँ पटक विश्वकप खेल्ने भएका छन् ।
प्रशिक्षक लियोनल स्कालोनीले बिहीबार सार्वजनिक गरेको २६ सदस्यीय टोलीमा मेसीसहित प्रमुख खेलाडीहरूको नाम समावेश गरिएको हो । मेसी हालसम्म सर्वाधिक विश्वकप खेल्ने खेलाडीसमेत बनेका छन् । अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै तेस्रो विश्वकप उपाधि जितेको थियो । अब २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ ।
टोलीमा गोलकिपर एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली र हुआन मुस्सो समावेश छन् । त्यसैगरी डिफेन्डरमा क्रिस्टियन रोमेरो, लिसान्द्रो मार्टिनेज, निकोलास ओटामेन्डी लगायतका खेलाडी छन् । मिडफिल्डमा एन्जो फर्नान्डेज, रोड्रिगो डी पाउल, एलेक्सिस म्याक एलिस्टर जस्ता खेलाडी परेका छन् भने फरवार्ड लाइनमा जुलियन अल्भारेज, लाउटारो मार्टिनेज र मेसी मुख्य आकर्षण बनेका छन् । मेसी हाल इन्जुरीका कारण हल्का आराममा रहेका भए पनि टोलीमा उनको समावेशीकरणलाई ठूलो महत्त्वका रूपमा हेरिएको छ । उनी यसअघि अर्जेन्टिनाका लागि १९८ अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।