काठमाडौँ । सिंगापुरमा आयोजना हुन लागेको ‘एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता’ खेल्न जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो। सिंगापुरमा आगामी मे ३१ (जेठ १७ गते) देखि छनोट प्रतियोगिता सुरु हुँदैछ।
बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीको आन्तरिक माहोल निकै बलियो र सकारात्मक रहेकाले सिंगापुरमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो नतिजा निकाल्ने दाबी गरे । त्यसै गरी टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल ले एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली खेलाडीहरू निकै उत्साहित र मानसिक रूपमा तयार रहेकाले सुखद नतिजा आउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको बताए ।
प्रतियोगितामा सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। कतारले अन्तिम समयमा प्रतियोगितामा सहभागी नजनाउने निर्णय गरेपछि समूह ‘ए’ मा अब तीन टोली मात्र सीमित भएका छन्। जसमा समूह ‘ए’मा नेपाल, मलेसिया र चीन र समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् ।
यस छनोट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीहरू मात्रै एसियन गेम्सको पुरुष क्रिकेटका लागि योग्य हुनेछन्। मुख्य एसियन गेम्स क्रिकेट प्रतियोगिता भने आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ३ सम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ। टेस्ट राष्ट्रहरू भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र आयोजकको हैसियतमा जापानले यसअघि नै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।