काठमाडौँ । मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको थियो। ११४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। नेपालको जितमा कप्तान इन्दु बर्माले कप्तानी इनिङ्स खेलिन्। उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४२ रनको अविजित पारी खेलिन्।
नेपालको मध्यक्रम सम्हाल्ने क्रममा इन्दुले चौथो विकेटका लागि सोनी पाख्रिनसँग ४५ रनको र पाँचौँ विकेटका लागि कविता कुँवरसँग ३४ रनको महत्वपूर्ण साझेदारी गरिन्। सोनी पाख्रिनले २९ रन र कविता कुँवरले १४ रनको योगदान दिए। ओपनर सीता राना मगर १३ रनमा अविजित रहिन्। इन्डोनेसियाका लागि नि मेड पुत्री सुवान्डेवी र नि एरिआनीले २–२ विकेट लिए।
यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको इन्डोनेसियाका लागि कप्तान नि पुतु आयु नान्दा साकारिनीले ६२ बलमा ५६ रनको अविजित अर्धशतकीय पारी खेलिन्। त्यस्तै नि लु देवीले २३ र नि मेड पुत्री सुवान्डेवीले १३ रन बनाइन्। नेपालका लागि बलिङतर्फ मनिषा उपाध्यायले घातक बलिङ गर्दै २ विकेट लिइन् भने रिया शर्माले १ विकेट आफ्नो नाम गरिन्।
नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पराजित गरेको थियो। अब सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाको सामना गर्नेछ। यस प्रतियोगिताको शीर्ष ३ टोलीले एसियन गेम्समा स्थान बनाउने छन्। नेपालले सेमिफाइनल खेल जितेमा सिधै एसियन गेम्सका लागि छनोट हुनेछ। यदि सेमिफाइनलमा पराजित भए पनि नेपालले तेस्रो स्थानका लागि खेल्ने अवसर पाउनेछ र उक्त खेल जितेर पनि एसियन गेम्सको टिकट पक्का गर्न सक्नेछ।