काठमाडौँ । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थ आयात मूल्यमा १६.३५ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यही अवधिमा एक खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको थियो। सूचना अधिकारी उदयसिंह विष्टका अनुसार पेट्रोलियम पदार्थ आयातबाट मात्रै ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
चालु आवको १० महिनामा करिब एक खर्ब रुपैयाँ बराबरको आठ लाख ९५ हजार किलोलिटरभन्दा बढी डिजेल आयात गरिएको छ। यस्तै, ३५ अर्ब ७९ करोड रुपैयाँ बराबरको तीन लाख ९० हजार किलोलिटरभन्दा बढी पेट्रोल भित्रिएको छ। त्यसैगरी २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको २४ करोड किलोभन्दा बढी एलपी ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ।