काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको ‘तेज’ ब्रान्डको तोरी तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभएको भन्दै तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेको उक्त तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएपछि यस्तो कदम चालेको हो ।
विभागका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम परीक्षण गर्दा आयातित तोरीको गेडाबाट उत्पादन गरिएको तेलमा खराबी पाइएको हो ।
विभागले ऐनको दफा ३८(२) अनुसार सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट तुरुन्त फिर्ता गर्न र दफा ३८(४) बमोजिम सो तेल अब उप्रान्त बिक्री–वितरण नगर्न वा नगराउन कडा निर्देशन जारी गरेको छ ।
६ महिनाको उपभोग्य अवधि तोकिएको उक्त तेल स्वास्थ्यका लागि उपयुक्त नभएकाले उपभोक्ताहरूलाई समेत सचेत रहन आग्रह गरिएको छ ।