काठमडौँ। डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीपप्रसाद धमलाले देशको अर्थतन्त्र मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधा आवश्यक रहेको बताएका छन्।
मंगलबार आयोजित ‘आगामी बजेट र उद्योगी तथा व्यवसायीका साझा मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीहरू स्पष्ट नीतिको अभावमा दबाबमा परेको बताए। उनले सरकारले उद्योग तथा व्यवसायको योगदान सही रूपमा नबुझेको टिप्पणी गर्दै अनुगमन, कर तथा नीतिगत परिवर्तनले व्यवसायिक वातावरण अस्थिर बनाएको दाबी गरे। धमलाले उद्योग सञ्चालनका लागि कम्तीमा ५ देखि १० वर्षसम्म स्थिर कर नीति आवश्यक रहेको बताए। उनका अनुसार बारम्बार नीति परिवर्तन हुँदा दीर्घकालीन योजना बनाउन समस्या भइरहेको छ।
उनले औद्योगिक क्षेत्रमा दीर्घकालीन र स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिए। उत्पादनमूलक उद्योगका लागि २५–३० वर्षसम्मको सहुलियतपूर्ण कर्जा नीति आवश्यक रहेको उनको भनाइ थियो। धमलाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न स्वदेशी उद्योगलाई कठिन भइरहेको उल्लेख गर्दै सरकारले आन्तरिक उत्पादनमा आधारित उद्योगलाई विशेष संरक्षण दिनुपर्ने बताए। उनले कच्चा पदार्थमा आधारित उद्योगलाई कर सहुलियत, ऊर्जा सुविधा र लगानीमैत्री नीति आवश्यक रहेको पनि बताए। डेरी क्षेत्रमा सञ्चालन गरिएको ‘मोही अभियान’ सफल भएको उल्लेख गर्दै उनले होटल तथा पार्टी प्यालेसमा मोहीको प्रयोग बढेसँगै स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग पुगेको दाबी गरे।