नयाँ दिल्ली । मध्यपूर्वमा जारी संकटको प्रत्यक्ष असर भारतीय उपभोक्ताहरूमा देखिन थालेको छ। भारतीय आयल मार्केटिङ कम्पनीहरूले पछिल्लो १० दिनभित्रै चौथो पटक पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेका छन्। यस भारी वृद्धिसँगै राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर भारु १०० रुपैयाँभन्दा माथि पुगेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार दिल्लीमा पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ ६१ पैसाले वृद्धि भएको छ। नयाँ मूल्य कायम भएसँगै अब दिल्लीमा पेट्रोल प्रतिलिटर १०२ रुपैयाँ १२ पैसा पुगेको छ।
यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ ७१ पैसाले बढेर प्रतिलिटर ९५ रुपैयाँ २० पैसा कायम भएको छ। दिल्लीबाहेक भारतका अन्य महानगरहरूमा पनि इन्धनको मूल्य आकाशिएको छ।
कोलकातामा पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ८७ पैसाले बढेर ११३ रुपैयाँ ५१ पैसा पुगेको छ। त्यस्तै मुम्बईमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ २१ पैसा कायम भएको छ भने चेन्नईमा २ रुपैयाँ ४६ पैसाको वृद्धिसँगै नयाँ मूल्य प्रतिलिटर १०७ रुपैयाँ ७७ पैसा पुगेको छ।