काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राज्यले खेलकुद क्षेत्रलाई आवश्यक सम्मान र सुविधा दिन अझै पर्याप्त काम गर्न नसकेको स्वीकार गरेका छन्।
साफ महिला च्याम्पियनसिप खेल्न भारत जान लागेको नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गर्दै उनले सीमित स्रोतसाधनका बाबजुद खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मान बढाउन सरकार प्रयासरत रहेको बताए। मन्त्री पोखरेलले खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय झण्डाको गौरव बढाइरहेको भन्दै उनीहरूलाई धन्यवाद पनि दिए। उनले खेलमा जित–हार स्वाभाविक भए पनि नेपाली टोलीको आत्मविश्वास बलियो रहेको र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। मन्त्री पोखरेलले आगामी दिनमा खेलकुद क्षेत्रको विकास र लगानी विस्तारमा सरकारले थप ध्यान दिने प्रतिबद्धता समेत जनाए।