काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बलिङ वरीयतामा ६ स्थान सुधार गरेका छन्।
आइसिसीले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार सन्दीप ४२ औँ स्थानबाट ६ स्थान उक्लिँदै ३६ औँ स्थानमा पुग्न सफल भएका हुन्। कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ त्रिकोणीय शृङ्खलामा गरेको उत्कृष्ट प्रदर्शनका कारण नेपाली खेलाडीहरूको वरीयतामा उल्लेख्य सुधार आएको हो।
सन्दीपसँगै स्पिनर ललितनारायण राजवंशीले बलिङतर्फ निकै ठूलो फड्को मारेका छन्। ललित १६ स्थान माथि उक्लँदै ५४औँ स्थानमा पुगेका छन्। यसअघिको वरीयतामा उनी ७०औँ स्थानमा रहेका थिए।
बलिङसँगै अलराउन्डरतर्फ पनि नेपाली खेलाडीहरूले आफ्नो बलियो उपस्थिति देखाएका छन्। नेपाली टोलीका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी एकदिवसीय अलराउन्डरतर्फ ३ स्थान सुधार गर्दै २५औँ स्थानमा उक्लिएका छन्।
त्यस्तै, युवा अलराउन्डर गुलशन झाले १५ स्थानको ठूलो छलाङ मार्दै ८७औँ स्थान सुरक्षित गरेका छन्। उनीसँगै ब्याटर कुशल भुर्तेलको वरीयतामा पनि सुधार आएको आइसिसीले जनाएको छ। घरेलु मैदानमा भइरहेको विश्वकप लिग–२ मा नेपाली खेलाडीहरूले लगातार उत्कृष्ट प्रदर्शन गरिरहँदा त्यसको सकारात्मक प्रभाव आइसिसीको वैश्विक वरीयतामा देखिएको हो।