काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार उक्त रकम बोलकबोलमार्फत दिउँसो ३ बजे संकलन गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँको गुणनफलमा रहने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन ब्याजदरमा आधारित हुने र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ९१ दिने उक्त उपकरणको साँवा तथा ब्याज आगामी भदौ ३ गते भुक्तानी गरिनेछ ।