काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुन लागेका दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ। क्यानले एशियन गेम्स क्वालिफायर्स र एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन मलेसिया प्रस्थान गर्नुअघि आइतबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी १४ सदस्यीय टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको हो। इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीले दुवै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि ऐतिहासिक उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ।
घोषित १४ सदस्यीय नेपाली टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो रहेका छन्। त्यस्तै टोलीका अन्य सदस्यहरूमा बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र पूर्वकप्तान रुबिना छेत्री रहेका छन् । मुख्य टोलीका अतिरिक्त क्यानले वैकल्पिक खेलाडीका रूपमा सावित्री धामी, सोमु बिस्ट, सना प्रवीण र लक्ष्मी साउदलाई समेटेको छ। टोलीलाई जितको शुभकामना दिँदै क्यानका पदाधिकारीहरूले पछिल्लो समय महिला क्रिकेटमा सुधार आएकाले यो भ्रमण नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन्।
मलेसियाको मैदानमा आयोजना हुने एशियन गेम्सको क्वालिफायर्स प्रतियोगिता आगामी मे २३ देखि ३१ सम्म सञ्चालन हुने तालिका रहेको छ। त्यसलगत्तै मलेसियामै एसीसी वुमन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता जुन १ देखि १३ सम्म आयोजना हुनेछ। दुवै प्रतियोगितामा एसियाली क्षेत्रका बलिया टोलीहरूबीच कडा प्रतिस्पर्धा हुने भएकाले नेपाली टोलीले बन्द प्रशिक्षणमा विशेष तयारी गरेको थियो।