काठमाडौँ । मुगमकार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा सम्पन्न ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धिरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएका छन्।
आइतबार बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको प्रतियोगिता छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सम्पन्न भएको थियो। प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी ५८ जना धावक सहभागी थिए। पुरुषतर्फ धिरबहादुर बुढाले ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे। दलबहादुर कुँवर दोस्रो तथा चन्द्रबहादुर रावत तेस्रो भए।
महिलातर्फ सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान प्राप्त गरिन्। राममाया बुढा दोस्रो र कल्पना बुढा तेस्रो भए।आयोजकका अनुसार प्रतियोगितामा एलिट, इन्टरमिडिएट, एड्भान्स र एक्सप्लोर गरी विभिन्न वर्गका धावकहरूको सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।