काठमाडौँ । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ। आइतबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो।
कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट टाढा राख्दै अघि बढाउने नीति लिएको बताएका छन्। उनले नेपालका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार प्रारम्भिक उमेरदेखि खेलकुदमा लगानी गरेमा उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिनेछ।
मन्त्री पोखरेलले आगामी पाठ्यक्रममा पनि खेलकुदलाई प्राथमिकताका साथ समावेश गरिने जानकारी दिएका छन्। उनले भने, खेलकुदलाई सकेसम्म दलीय राजनीतिबाट टाढा राख्ने प्रयास भइरहेको छ। सानै उमेरदेखि विद्यार्थीमा लगानी गर्न सकेमा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ, त्यसैले पाठ्यक्रममा खेलकुदलाई विशेष प्राथमिकता दिइनेछ। आयोजकका अनुसार प्रतियोगिता होम एन्ड अवे ढाँचामा तथा डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। यस संस्करणमा १० देखि १२ टोली सहभागी हुने अपेक्षा गरिएको छ।