काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। झण्डै दुई महिना लामो गतिरोधपछि शुक्रबार राखेपले एन्फामाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो।
एन्फा महासचिवसहितका पदाधिकारीहरूले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग मन्त्रालयमा सकारात्मक छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन फुकुवा भएको पुष्टि गर्दै यसबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई औपचारिक जानकारी गराइने बताए ।
“निलम्बन फुकुवा भएसँगै अब नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने सम्भावना बढेको छ,“ प्रवक्ता शाहले भने । यसअघि राखेपको निर्देशन पालना नगरेको भन्दै गत चैत ११ गते खेलकुद विकास ऐन २०७७ को दफा २९ (२) बमोजिम एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरिएको थियो।
फुटबलको सर्वोच्च निकाय निलम्बनमा पर्दा नेपाली फुटबलको भविष्य र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागितालाई लिएर ठुलो चिन्ता व्यक्त गरिँदै आएको थियो। यो फुकुवासँगै अब फुटबलका नियमित गतिविधिहरू पुनः सुचारु हुने अपेक्षा गरिएको छ।