काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको छ। एनसेलमा भएका विभिन्न आर्थिक अनियमितता र विवादास्पद व्यावसायिक गतिविधिमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले बिहीबार छापा मारेको हो।
एनसेलमा भएको अनियमितताका सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदनले दिएको सिफारिस र नेपाल दूरसञ्चार प्राधिकरणको पत्राचारका आधारमा सीआईबीले आफ्नो सक्रियता बढाएको हो। छापा मार्ने क्रममा प्रहरीले एनसेलको व्यवस्थापन र वित्तीय कारोबारसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।
विशेष गरी, एनसेलको शेयर खरिद–बिक्रीमा भएको विवादास्पद सम्झौता र गैरकानुनी रूपमा स्मार्ट टेलिकमको सम्पत्ति लिलामी सकारेको विषयमा अनुसन्धान केन्द्रित रहेको सीआईबी स्रोतले जनाएको छ। स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर कानुनविपरीत सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि एनसेल थप विवादमा मुछिएको थियो।
सीआईबीका एक उच्च अधिकारीले भने, “हामीले एनसेलको कार्यालयबाट अनुसन्धानका लागि आवश्यक केही फाइल र डिजिटल कागजातहरू नियन्त्रणमा लिएका छौँ। शेयर बाँडफाँड र लिलामी प्रक्रियामा भएका त्रुटी तथा सम्भावित आर्थिक अपराधका विषयमा विस्तृत अध्ययन जारी छ।“
लामो समयदेखि कर छली र स्वामित्व हस्तान्तरणका विषयमा आलोचना खेप्दै आएको एनसेलमाथि प्रहरीले प्रत्यक्ष हस्तक्षेप गरी कागजात नियन्त्रणमा लिएपछि यो प्रकरणले नयाँ मोड लिएको छ। प्रहरीले नियन्त्रणमा लिएका कागजातहरूको विश्लेषणपछि थप कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।