काठमाडौँ । कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको जग्गामा बनेका घरटहरा हटाइएपछि सयौं परिवार अहिले अस्थायी होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन् ।
घर भत्काइएपछि विस्थापित बनेका परिवारले आफूहरूको बसोबास मात्र होइन, भविष्य र आशासमेत चकनाचुर भएको बताएका छन् । स्थानीय देवकला सापकोटाले डोजर चलेपछि बालबालिका मानसिक रूपमा त्रसित बनेको बताइन् । उनका अनुसार साना छोराछोरी घर भत्किएको घटनापछि रातभर सुत्न नसक्ने अवस्थामा पुगेका छन् । “बच्चाहरू अहिले पनि ‘हाम्रो घर फेरि बन्छ रु’ भनेर सोध्छन्,” उनले भनिन् ।
विस्थापित परिवारका अनुसार होल्डिङ सेन्टरमा आधारभूत आवश्यकताको अभाव छ । साना बालबालिकालाई पोषणयुक्त खाना, बिरामी तथा ज्येष्ठ नागरिकलाई नियमित औषधि र गर्भवती तथा सुत्केरी महिलालाई आवश्यक सुविधा उपलब्ध गराउन कठिन भइरहेको उनीहरूको गुनासो छ । स्थानीय गोरखबहादुर घर्तीले वर्षौंको मेहनतले बनाएको घर एकैदिनमा भत्किँदा आफूहरूको अस्तित्व नै मेटिएको महसुस भएको बताए । उनले बालबालिकाको पढाइसमेत प्रभावित भएको उल्लेख गरे । “किताब, कापी, पोशाक सबै हरायो । बच्चाहरू तनावमा छन्,” उनले भने ।
त्यस्तै रामबहादुर गाइनले मजदुरी गरेर बनाएको घर भत्किँदा परिवारको आधार नै समाप्त भएको बताए । होल्डिङ सेन्टरको साँघुरो र असहज वातावरणमा बस्नुपर्दा बालबालिका र ज्येष्ठ नागरिक थप समस्यामा परेको उनको भनाइ छ । विस्थापित जानकी विकले पनि सुरक्षित बसोबास, खानेपानी, स्वास्थ्य उपचार र बालबालिकाको शिक्षाबारे राज्यले गम्भीर ध्यान दिनुपर्ने माग गरिन् । उनका अनुसार अहिले धेरै बालबालिका विद्यालय जान पाएका छैनन् भने वृद्धवृद्धाको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको छ ।
उता कोहलपुर नगरपालिका ले भने सार्वजनिक जग्गा संरक्षण अभियानअन्तर्गत अतिक्रमित क्षेत्र खाली गराइएको जनाएको छ । नगरपालिकाले वैशाख १६ गते १० दिने सूचना जारी गर्दै क्षेत्र खाली गर्न आग्रह गरेको थियो । नगर प्रमुख पूर्णप्रसाद आचार्य ले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचानपछि दीर्घकालीन व्यवस्थापन गरिने बताएका छन् । विस्थापित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको नगरपालिकाको भनाइ छ । तर, विस्थापित परिवारहरूका लागि भने अहिलेको मुख्य चिन्ता बसोबास मात्र होइन, बालबालिकाको भविष्य, स्वास्थ्य उपचार र दैनिक जीवन कसरी सञ्चालन गर्ने भन्ने बनेको छ ।