काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघ को तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा आगामी जेठ १ र २ गते काठमाडौँमा आयोजना हुने भएको छ ।
महासंघले बिहीबार पत्रकार सम्मेलनमार्फत देशभरका मोबाइल व्यवसायीको सहभागितामा महाधिवेशन गर्न लागिएको जानकारी दिएको हो । महासंघका अनुसार हाल सातै प्रदेश र ७० जिल्लामा संगठन विस्तार भइसकेको छ भने करिब २७ हजार ४ सय सदस्य आबद्ध छन् । महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब १५ सय प्रतिनिधि काठमाडौं आउने तयारीमा रहेको महासंघले जनाएको छ ।
महाधिवेशनबाट ५५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिनेछ । अध्यक्षसहित विभिन्न पदमा निर्वाचन हुने व्यवस्था गरिएको महासंघले जनाएको छ । उद्घाटन कार्यक्रम जेठ २ गते बिहान काठमाडौँस्थित राष्ट्रिय सभागृह मा आयोजना हुनेछ भने जेठ १ गते कौशलटारस्थित ह्वाइट पार्टी प्यालेसमा बन्दसत्र सञ्चालन गरिने कार्यक्रम रहेको छ । महासंघले मोबाइल व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउन र व्यवसायिक वातावरण सुधारका लागि महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरेको छ ।