काठमाडौँ । नेकपा एमालेका सांसद अर्जुनकुमार कार्की ले नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रिय हितसँग जोडिएका विकास एजेन्डामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । उनका अनुसार नेपाल अझै पनि अति कम विकसित राष्ट्रको सूचीमा रहेकाले विकासशील राष्ट्रमा उक्लिन आर्थिक कूटनीतिले महत्वपूर्ण भूमिका खेल्नेछ ।
सांसद कार्कीले वैदेशिक सहायता, लगानी र विकास साझेदारीलाई प्रभावकारी रूपमा आकर्षित गर्न परराष्ट्र सम्बन्धलाई आर्थिक हितसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले आर्थिक कूटनीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मुलुकको आर्थिक तथा सामाजिक विकास, गरिबी निवारण र पूर्वाधार विस्तारमा सकारात्मक प्रभाव पर्ने धारणा पनि व्यक्त गरे ।