काठमाडौँ । नक्कली सुनलाई सक्कली सुन भन्दै बिक्री गर्ने तीन जना पक्राउ परेका छन् । सुनको लेप लगाएको नक्कली गहनालाई सक्कली भन्दै धितो राखी ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने ४५ वर्षीया मिना कुमारी सुनुवार, भक्तपुर बस्ने ३८ वर्षीय कालीदास धतानी र २७ वर्षीय अजित विश्वकर्मा रहेका छन्।
उनीहरूले ललितपुरका एक सुनचाँदी व्यवसायीलाई “आमा बिरामी हुनुहुन्छ, उपचारका लागि पैसा चाहियो“ भनी विश्वासमा पारेका थिए। नक्कली बिल बिजक समेत बनाएर सुनको लेप लगाएको गहना धितो राखी उनीहरूले ५ लाख रुपैयाँ ऋण लिएर फरार भएका थिए। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ। उनीहरूको साथबाट सुन–चाँदी जस्तो देखिने विभिन्न नक्कली गरगहना समेत बरामद भएको छ।