काठमाडौँ । नेकपा एमालेका सांसद ऐनबहादुर महर ले प्रधानमन्त्रीको संसदप्रतिको व्यवहारबारे प्रश्न उठाउँदै सरकार लोकतान्त्रिक अभ्यासप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र शहीदहरूको बलिदानबाट प्राप्त भएको व्यवस्था भएको स्मरण गराए ।महरले वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा अन्य कुनै ‘तन्त्र’ विकास गर्न खोजिरहेको हो भन्ने प्रश्नसमेत उठाए । प्रधानमन्त्री बालेन्द्र शाह लाई संकेत गर्दै उनले ‘बालेनतन्त्र’ जस्तो शब्द प्रयोग गर्दै यस्तो प्रवृत्ति देखिनु गम्भीर विषय भएको टिप्पणी गरे । उनका अनुसार पटक–पटक संसदलाई उपेक्षा र अपमान गर्ने काम भएको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गर्नुपर्ने अवस्था आएको छ । उनले सरकार संसद र संविधानप्रति पूर्ण रूपमा जवाफदेही हुनुपर्नेमा जोड दिए । महरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने समयमा प्रधानमन्त्री अनिवार्य रूपमा संसदमा उपस्थित हुनुपर्ने पनि बताए ।