काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणलाई लिएर चीन–अमेरिका सम्बन्ध सुधारतर्फ महत्वपूर्ण कूटनीतिक पहल हुने अपेक्षा गरिएको छ ।
राष्ट्रपति ट्रम्प चिनियाँ राष्ट्रपति शी जिनपिङ को निमन्त्रणामा बुधबार साँझ बेइजिङ पुगेका हुन् । यो उनको तीन दिने औपचारिक राजकीय भ्रमण हो ।बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङसहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए । स्वागत समारोहमा जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो । यो भ्रमण नौ वर्षपछि कुनै अमेरिकी राष्ट्रपतिको पहिलो चीन यात्रा हो । साथै, गत वर्ष दक्षिण कोरियाको बुसानमा भएको भेटपछि ट्रम्प र शी जिनपिङबीचको यो पहिलो प्रत्यक्ष भेट पनि हुनेछ । भ्रमणका क्रममा दुई देशबीच व्यापार, कूटनीति तथा विश्व शान्तिसँग सम्बन्धित विषयमा उच्चस्तरीय वार्ता हुने बताइएको छ । यसलाई अमेरिका–चीन सम्बन्ध सुधार र तनाव न्यूनीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।