काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पर्यटन बोर्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र अनलाइन ‘प्लेटफर्म’मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, नेपालमा बसाइ अवधि ३० दिनमा सीमित गरिएको तथा अवधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता विवरण पूर्णरूपमा गलत, आधारहीन र भ्रामक भएका जनाएको हो ।
विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ ।
नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत जनाइएको छ ।
